"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट झट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नु पर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुँले भनिन् ।
"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागे पछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" मन्द मन्द मुस्कुराउँदै डाक्टर गोदत्त प्रसादले भने– "त्यसरी नतर्साऊ न हत्तेरी !"
"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईं जस्ता लोग्ने मान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एक एक सुनि सकेँ तपाईंको यमुना तटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुँले भनिन् ।
"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुँ ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानु पर्ने छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"भो, मलाई धोका नदिनु होला तर मलाई एकतर्फी भएर गर्नु भएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनु भएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरि रहेकी होली !"
"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइ रहन्छ्यौ भने मेरो के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्त प्रसादले भने ।
"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" नानीथकुँले भनिन् ।
"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख