आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"
डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता 'नमस्ते' सम्म पनि गरेका थिएनन् ।
उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध भावमा भने– "नानीथकुँ खोइ नि ?"
"कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।
"तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति