उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, फार बढ्नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलिरहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनूँ भने धान एकदम कम हुन्छ ।" शिव नारानले भने ।
"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौं ? कुन किसानले दरबार बनाउन सकेको छ ? 'खेत' भनी सधैं यसरी मरिरहेका छौं । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन बिनाएकादशी पनि उपवास र निराहार उत्तिकै बस्नुपर्छ ।" मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।
"खान त पाएनौँ हामीले, लौ हो भनौं, तर संसारलाई ख्वाउन त पाएका छौँ– यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिव नारानले पनि हाँस्तै भने ।
"लौं हिँड्नोस्, तपाईंसित को कुरा गरिरहन सक्छ ?"
हाकुमाया र शिव नारान दुवै मिलेर खोजीखोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर फार उखेल्ने काममा लागिरहेका थिए, जसलाई दुःख होइन, शिव नारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिव नारानले आफ्ना छोराछोरीहरूसित कुरा गरिरहेका थिए– "यसपालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेतअनुसार खेतमा पूरै बाली फल्नेछ । घर पनि हामी यसपालि काइदासाथ मर्मत गर्नेछौं । हर्ष नारान र नानीथकुंको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटिसकेपछि अलिकति धान बेचेर भए पनि यस पालि त एक चोटि सिनेमा पनि नहेरिछोड्दिनँ ।"
"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।
"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यसपालि म बाइस्कोप देखाउन लैजान्छु ।" शिव नारानले भने ।
"साँच्ची, एक चोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के' गर्नैपर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइसक्यो, आजसम्म हेर्न पाएको छैन ।" हाकुमायाले भनिन् ।