दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यौ ।
तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्यौ ॥
हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ ।
तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म गर्थ्या कहाँ ॥६०॥
कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी ।
चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी ॥
थाहा भो दशरथ्जिलाइ र गया दर्शन् गर्याथ्या जसै ।
देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै ॥६१॥
तत्क्षण्मा तहिं जातकर्म पनि भो सब् काम् गुरूले गर्या ।
कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् पर्या ॥
जम्ल्याहा दुइ पुत्र पाउँदि भइन् ताहाँ सुमित्रा पनी ।
जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी ॥६२॥
तिन् रानी तिर चार पुत्र सुकुमार् जन्मी सक्याथ्या जसै ।
भूमी रत्न सुवर्ण वस्त्रहरुका भारी भया दान् तसै ॥
कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी ।
राख्या केकयिपुत्रको भरत नाम् जम्ल्याहको नाम् पनी ॥६३॥
जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया ।
तिन्को नाम् पनि काम माफिक असल् शत्रुघ्न राखी दिया ॥
लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया ।
पायस्कै अनुसारले हुन गयो प्रीती त बढ्दै गया ॥६४॥
बालक्काल् बिति गै गयो प्रभुजिको सब् बाललीला गरी ।
चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी ॥
खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी ।
राज्काज् गर्नु जती थियो सकल त्यो राज्काज् चलाया पनी ॥६५॥
Page:Bhanubhaktako ramayan.pdf/22
Appearance
This page has been proofread
