यस् पायस् कन आज लेउ भगवान् ! छोरा हुन्या छन् भनी ।
राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी ॥
राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्मा परी ।
कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी ॥५४॥
खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी ।
कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी ॥
दूवैले दुइ भाग देखि झिकि भाग् तिन्को पुर्याई दिया ।
तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया ॥५५॥
तीनै रानी ति गर्भिणी पनि भया तेज् देवताका सरी ।
देखीयो सब रानिका सकल लोक् खूसी भया तेस् घरी ॥
कौशल्या जननी गराइ भगवान् श्रीराम पैदा भया ।
देखिन् श्रीप्रभुको चतुर्भुज स्वरुप् सब् माइका ताप् गया ॥५६॥
हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी ।
जान्याँ नाथ ! हजूरलाइ सबका आत्मा स्वरूपी भनी ॥
यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ ।
मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ ॥५७॥
देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् ! शरण्मा पर्याँ ।
यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा गर्याँ ॥
यस्तो दिव्य शरिर् लुकाइ कन बेस् बालक् स्वरुप्का बनी ।
दर्शन् देउ मलाइ हेर्छु भगवन् । फेर् बाललीला पनी ॥५८॥
तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी ।
सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी ॥
यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ ।
मातर् ! जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ ॥५९॥
Page:Bhanubhaktako ramayan.pdf/21
Appearance
This page has been proofread
