माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई ।
छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई ॥
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी ।
अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥
अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी ।
ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥
मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई ।
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥
ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी ।
इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्मा झरी ॥
यै बिच्मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ ।
तिन्को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥
ताप्ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी ।
हे सर्वज्ञ मुने ! कसो गरि हुनन् छोरा मलाई भनी ॥
यस् काम्ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया ।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥
हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ! एक् यज्ञ ऐल्हे गर्या ।
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्या ॥
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसै ।
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥
यस्तो अर्ति वशिष्ठको जब सुन्या राजा बहुत् खुस् भया ।
शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया ॥
ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै ।
पायस्को थलिया लिई कन तहाँ आया ति अग्नी तसै ॥५३॥
Page:Bhanubhaktako ramayan.pdf/20
Appearance
This page has been proofread
