सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै ।
फेर् विस्तार् गरि सुन्नलाइ मन भी ती पार्वतीको तसै ॥
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् ! सबै रामको ।
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥
सूनोस् रामलिला भनेर म उपर् माया बहूतै धरी ।
सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥
यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी ।
जो जो हुन् सब राम्चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥
ई भूमी कन रावणादि विरले भारी बनाई दिया ।
भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥
पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी ।
आयाँ आज दयानिधान् ! चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥
यस्तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ ।
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥
इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्याथ्या जसै ।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥
देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्मा पर्या ।
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्या ।
हे नाथ् ! रावण दुष्ट भै सकल लोक्लाई विपत्ती दियो ।
इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्ले लियो ॥४६॥
यस्लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी ।
मानिस् देखि मर्यास् भनी त वरदान दीई रह्याँछू पनी ॥
ब्रह्माको यति बिन्ति सूनि भगवान्को यो हुकुम् भो पनी ।
रावण्लाइ म मारुँला सहजमा मानिस् सरीको बनी ॥४७॥
Page:Bhanubhaktako ramayan.pdf/19
Appearance
This page has been proofread
