Jump to content

Page:Champa.pdf/8

From Nepali Proofreaders
Revision as of 19:02, 5 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

रातो मुख लागाएर हेर्थे ए हामीलाई पनि !

सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए… हातमा काँडे लट्ठी थियो । उनले हल्पी ऐनाअगाडि आफ्नो चेहेरा जाँचे– मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा सचेतता राख्दैन । 'किन नहाँसून नाइँ, छेपाराले चुस्या' जस्ता ढुम्म मोरीहरू !' … उनको जीवन नै हँस्सी थियो … वृद्धताउपर निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । 'हामी पनि त हाँस्यौँ नि आफ्नो जमानामा… हर्के बूढो, अरिमर्दन बूढो, सुब्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, उहिले !'

उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो बूढो मान्छेले किन ऐना हेर्‍या होला । के मजा लाग्दो होला, छिः ! …

बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?"

बूढा नातिनीतिर फर्के… दारीमा हात लगाएर भने, "आम्मै ! हाम्रो आँखा हैइन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र आँखा, मुख हुन्छ त ?"

"हजूरबुबा ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ हगि ?"

"चोरको खुट्टा काट् … बूढाले उत्तर दिए, "हेरन, आफ्नो मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ! जुँघामा कति तमाखुको काई लाग्यो भनेर । तिमीहरुलाई पो जुन बेला पनि सिँगार गरिरहूँ, ऐनामा हेरिरहूँ जस्तो लाग्छ ।"

"हजूरबुवाको मुहार मलाई ता चौपट्ट हिसी भएको जस्तो लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो लाग्दैन, बाबै !"

"कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो छु ? फटाही !"