Jump to content

Page:Ritubichar.pdf/73

From Nepali Proofreaders
Revision as of 18:54, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

६१
हालमा नयनाऽऽनन्दी हरियो कान्तिमाधुरी ।
गहुँबारीसिवा अन्त छैन यो पृथिवीभरी ॥

६२
गहुँका हरिया साना पातमा बिन्दु शीतका ।
पन्नामाथि जडायेका मोती झैं देखिये निका ॥

६३
पापी शिशिरको सेतो शीतको शीतनिर्मित ।
छाता झैं रातमा चन्द्र देखिन्छन् शैत्यपूरित ॥

६४
उनै पूर्णकलाधारी सुखकारी सुधामय ।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥

६५
धामीतुल्य सबै लोक काँपेका देखि थर्थरी ।
चन्द्रले चाँदनीरूप खित्का छोडे कि बेसरी ?

६६
चीसो तपतपाऽऽकार चाँदनीरूप चादर ।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ?

६७
हालमा चन्द्रको छैन सूर्यको झैं प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्पन ?

६८
भयेदेखि हिजोआज उनै साथी उनै मनी ।
सहसा शीतबाधाले सकदैन छुनै पनि ॥

६९
बढालू रसिला सोझा जातिजम्मा उखूकन ।
लोक लाग्यो विजेता झैं चूर्ण पारी चपाउन ॥