This page has not been proofread
९७
मनुष्यको कुरा के छ पशुपक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥
९८
आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर ।
बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥
९९
यताउति कतै केही नहेरी मस्त भैकन ।
विजयी वीर झैं गर्वी थाले गोपति ढल्कन ॥
१००
योगीको मन झैं पानी, बाटो वेदपथैसरी ।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले गरी ॥
१०१
हुनत अति उज्यालो हो शरत्काल खास
तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
रसिक गरनुहोला तैपनी दृष्टिपात
श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥
इति शरद्-विचार