This page has not been proofread
गौँथलीको चिरिबिरी
(१)
म बस्ने कोठाकै दलिन-बिचमा गौँथली बस्यो
पिटाएको तन्ना-उपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदय-बिच लाग्यो किरिकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ॥
(२)
अहो !! त्यस्ता ताता नजर अति राता विष सरि
तरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।
तिमी धर्मात्मा छौ घर-बिच म छू आज अतिथि
तिथी माघे औँसी शहरभर भूकम्प-फजिति ॥
(३)
जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भो
चल्यो भारी हा हा नसहिसकनू नै प्रलय भो ।
कहाँ पाऊँ ठाडो घर, कसरि ओतौँ शिर भनी
दुवै भाले-पोथी फनफनि घुम्यौँ व्याकुल बनी ॥