This page has been proofread
(४)
बिरालाको फेरि अधम चिलको, काग शठको
शिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको ।
परी शङ्का भारी सबतिर विचारी डुलि डुलि
निराशामा रुन्थेँ अघि अघचिलो ठाम नमिली ॥
(५)
यहाँ तिम्रो सानू घर महल वा रामझुपडी
खडा देखी राम्रो गगन-बिच खेल्दै लडिबुडी ।
पसेको हूँ बाबा ! अलि दिन बसूँला कि म भनी
प्रियाको आगामी प्रसव दिनको उत्सव गनी ॥
(६)
तिमी भन्छौ मेरो सकल घर यो खास यसमा
चरी घुस्यो सानू कुन चिरिबिरे रङ्गरसमा ।
म भन्छू हे बाबा ! घर महल मेरो छ नभन
पलामा घर्केका घर उपर दौडाउ नयन ॥
(७)
निमेषैमा भत्की घररर गरी घर्र त्यसरी
ढली ज्यानै हर्ने घर छ डरको दीर्घ भुमरी ।
विधाताको भित्रै मधुर करुणाको रस परी
परेनौँ तै हामी विकट भुमरीमा अरु सरि ॥