This page has not been proofread
३ यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ॥१ ॥
याँहाँ बसेर कविता यदि गर्न पाऊँ,
यस्देखि सोख अरु थोक म के चिताऊँ ।
उस्माथि झन् असल सुन्दरि एक् नचाऊँ,
खैंचेर इन्द्रकन स्वर्ग यहीं बनाऊँ ॥२ ॥
४ रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू ।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।
लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी ।
५ जागिर् छैन धनी म छैन घरको केबल् कुदालो खनी,
खान्थ्याँ दुक्ख गरेर चाकरि गर्याँ मान् पाउँला की भनी ।
एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि ।
मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।