कस्लाइ हो शत्रु भनेर जान्नू ?
आफ्ना दशै इन्द्रिय शत्रु मान्नू ।
कस्लाइ खूब् मित्र भनेर मान्नू ?
जीत्या तिनै इन्द्रिय मित्र जान्नू ॥७॥
दरिद्र नाऊँ नरमा छ कस्को ?
विशाल तृष्णा घरमा छ जस्को ।
कुन् हो धनी सब् नरले कह्याको ?
सन्तोषले जो छ खुसी रह्याको ॥८॥
जिउँदै मर्याको भनि नाम् छ कस्को ?
उद्यम् बिना बित्तछ काल जस्को ।
अमृत्-सरी कुन् छ भन्या ? निराशा
पाशा कउन् हुन् ? ममतै छ पाशा ॥९॥
को छन् सुरा झैँ अति मोह गर्न्या ?
स्त्री जान्नु तस्तै गरि चित्त हर्न्या ।
कस्लाइ विद्वानहरु तुच्छ भन्छन् ?
जो कामदेव्को वशमा रहन्छन् ॥१०॥
मृत्यू भन्याको भन आज कुन् हो ?
अप्यश् भन्याको तिमि जान जुन् हो ।
कुन् हो सबैले गुरु भन्नु पर्न्या ?
जो हो हितैको उपदेश गर्न्या ॥११॥
कुन् शिष्य हो शिष्य भनेर जान्नू ?
जुन् गर्छ सेवा उहि शिष्य मान्नू ।
कुन् दीर्घ रोग् हो सबलाइ हर्न्या ?
संसार हो जन्मनु मर्नु पर्न्या ॥१२॥
यो दीर्घरोग् फेक्न उपाय कुन् हो ?
अनित्य सब् जान्नु विचार जुन् हो ।
भूषण् छ कुन् सज्जनले कह्याको ?
शीलै छ भूषण् बहुतै बन्याको ॥१३॥
Page:Bhanubhaktako ramayan.pdf/243
Appearance
This page has not been proofread
