जल्दी मातलि सारथी रथ लिई राम्का हजुर्मा गया ।
हात् जोरी कन रामका हजुरमा क्यै बिन्ति गर्दा भया ॥
हे नाथ् रथ् लिइ इन्द्रका हुकुमले आयाँ खडा छू पनी ।
यै रथ्मा चढि बक्सियोस् हजुरले बेस् बिन्ति पार्यो भनी ॥२५२॥
यो बिन्ती गरि मातली अघि सर्या ख्वामित् सितानाथ् पनी ।
तेस् रथ्लाइ परिक्रमा गरि चढ्या चढ्नै उचित् हो भनी ॥
ताहाँ देखि त मच्चियो अधिक झन् सङ्ग्राम् निरन्तर गरी ।
जुन् बाण् रावणले त छोड्छ उहि बाण् काट्छन् रमानाथ् हरी ॥२५३॥
यस्ता रित् सित शस्त्र अस्त्र सब थोक् काट्या प्रभूले जसै ।
रावण्ले पनि राक्षसास्त्र लिइ खुप् फेर् हान्न लाग्यो तसै ॥
रावण् हान्दछ बाण् जती जति तहाँ सब् सर्प रुप् भै खस्या ।
हान्या बाण् रघुनाथले पनि र ती बाण् ता गरुड् भै खस्या ॥२५४॥
काट्या सर्प पनी सबै गरुडले पक्रेर टुक् टुक् गरी ।
तेस् बिच्मा शरवृष्टि खुप् सित गर्यो राम्का अगाडी सरी ॥
धक्का केही दियो प्रभू कन तहाँ फेरी गिराऊँ भनी ।
हान्यो मातलिलाइ बाण् र पछि फेर् केतू खसाल्यो पनी ॥२५५॥
घोडैलाइ पनी अनेक शरले खुप् हान्न लाग्यो जसै ।
आश्चर्यै भइ देवपीतृऋषिगण् खेद् मान्न लाग्या तसै ॥
लीलाले रघुनाथ् पनी जब तहाँ दुःखी सरीका भया ।
वानर्को सब फौज् विभीषण समेत् साह्रै डराई गया ॥२५६॥
बिस् बाहू दस सिर् भयङ्कर स्वरुप् मैनाक् सरीको भई ।
लड्थ्यो रावण रामका हजुरमा साम्ने नजीकै गई ॥
ऊठ्यो रिस् प्रभूको र तेहि बिचमा कालाग्नि जस्ता बनी ।
रावण्का दस सिर् गिराउन लिया जल्दी धनुर्बाण् पनी ॥२५७॥
Page:Bhanubhaktako ramayan.pdf/170
Appearance
This page has not been proofread
