यै बिच्मा ति समुद्रले चरणमा पस्रेर बिन्ती गर्या ।
कीर्ति खुप् रहन्याछ सेतु बलियो हालेर लस्कर् तर्या ॥
सेतू बाँधनमा समर्थ नल छन् इन्ले त वर्दान् पनी ।
पायाको छ इ विश्वकर्मसुत हुन् बाँधुन् इ सेतू भनी ॥७८॥
येती बिन्ती गरेर पाउ परि फेर् सागर् अदृश्यै भया ।
सागर्को विनती सुनी नल पनी राम्का हजुर्मा गया ॥
हूकुम् भो नललाइ सेतु तिमिले चाँडै बनाऊ भनी ।
लस्कर् साथ लिया र जल्दि नलले सेतू बनाया पनी ॥७९॥
खुसि भइ नलले सब् वीरको तेज् जगाई ।
वरि परि जति छन् सब् वृक्ष पर्वत् मगाई ॥
अघि सरि कन सेतू बाँध्न लाग्या जसै ता ।
शिव भनि रघुनाथ्ले मूर्ति थाप्या तसै ता ॥८०॥
रामेश्वर् भनि नाम् चलोस् अब उपर् सङ्कल्प याहाँ लिई ।
गङ्गाजल् लिन काशि गै कन उ जल् ल्याई नुहाई दिई ॥
फ्याँक्ला कामरु त्यो समुद्रजलमा जस्ले बगोस् यो भनी ।
त्यो जन् मुक्त हवस् भनेर रघुनाथ्को यो हुकुम् भो पनी ॥८१॥
बाँध्या सेतु छपन्न कोस पहिले दिन् दोसरा दिन् असी ।
कोस् चौरासि सक्या तृतीय दिनमा कम्मर् सबैले कसी ॥
कोस् अट्ठासि सक्या चतुर्थ दिनमा बाँकी बयानब्य कोस् ।
पाँचौं दीन महाँ सक्या नजर भो निस्केन एक् काँहि दोष् ॥८२॥
तेही मार्ग गरेर फौज् सब तर्यो ढाक्यो त्रिकुट् पर्वतै ।
टापू ढाकि दियो रहेन बिचमा खाली भन्याको कतै ।
भाईलाइ चढाइ अङ्गद महाँ आफू हनूमान् महाँ ।
चढ्नू भो रघुनाथ् र जानु पनि भो थीयो जगा उच् जहाँ ॥८३॥
Page:Bhanubhaktako ramayan.pdf/141
Appearance
This page has not been proofread
