लङ्कापुरी सकल खाग् गरि सैन्य मारी ।
फेरी समुद्र सहजै तरि आइ वारी ॥
सीताजिको जब सबै समचार् बताया ।
श्रीरामले ति हनुमान् कन खुप् सह्राया ॥१॥
भन्छन् श्रीरघुनाथ् अहो इ हनुमान्ले खुप् ठुलो काम् गर्या ।
एक्लै गै कन रावणादि विरको सेखी इनैले हर्या ॥
यत्रो क्षार समुद्र कूदि कन फेर् खाग् गर्नु लङ्का अनी ।
को सक्ला सब डर्दछन् इ जति छन् इन्द्रादि द्यौता पनी ॥२॥
सुग्रिव्का सब मन्त्रिमा इ सरि को होला न कोही भयो ।
छोरो रावणको निभाइ कन ता साम्ने उसैका गयो ॥
सेवक्ले जति गर्नु पर्छ तति सब् सेवा इनैले गर्या ।
सीताको समचार् बतायर यहाँ हाम्रो ठुलो ताप् हर्या ॥३॥
विर् हुन् ई हनुमान् र कूदि कन गै कूदेर आया यहाँ ।
यो सागर् कसरी तरी म अहिले पौंचन्छु लङ्का महाँ ॥
गैह्रो क्षार समुद्र यो छ बिचमा जल्मा अनेक् जन्तु छन् ।
त्यो सागर् कसरी तरिन्छ भनि खुप् आत्तिन्छ मेरो त मन् ॥४॥
रावण्लाइ कसोरि मारुँ कसरी तारूँ म फौज् यो भनी ।
चिन्ता हुन्छ कसोरि पाउँछु अहो मेरी पियारी पनी ॥
राघव्का इ वचन् सुनी कन तहाँ सुग्रिव् अगाडी सरी ।
गर्छन् बिन्ति हजूरमा रघुपते क्या हुन्छ चिन्ता गरी ॥५॥
Page:Bhanubhaktako ramayan.pdf/128
Appearance
This page has not been proofread
श्रीयुद्धकाण्ड
