Jump to content

Page:Bhanubhaktako ramayan.pdf/82

From Nepali Proofreaders
Revision as of 16:13, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> देख्या सुग्रिवले तथापि मनमा शङ्का त फेरी रह्यो । सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ भन्न्या भयो ॥ सात् ताल् वृक्ष इ छन् इ एक शरले छेड्छन् त मार्छन् भनी । सुग्र...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

देख्या सुग्रिवले तथापि मनमा शङ्का त फेरी रह्यो ।
सक्छन् क्या तब बालि मार्न कन ता ठूलो छ भन्न्या भयो ॥
सात् ताल् वृक्ष इ छन् इ एक शरले छेड्छन् त मार्छन् भनी ।
सुग्रिव्का मनमा भयो र इ कुरा सब् थोक् सुनाया पनी ॥२४॥

हे नाथ् बिन्ति म गर्दछू अरु पनी यस्तो छ बाली भनी ।
येही सिर् कन फ्याँकि मात्र मनले मानेन विश्वास् पनी ॥
बालीले यही ताल वृक्ष कन ता बूटै बराबर् गनी ।
हल्लायेर खसालि दिन्छ जति छन् सम्पूर्ण पत्ता पनी ॥२५॥

ई ताल् वृक्ष पनी यहाँ हजुरले एक् बाण ऐल्हे धरी ।
सब्मा छिद्र गराइ बक्सनु हवस् बुझ्न्या छ मन् खुप् गरी ॥
येती बिन्ति तहाँ ति सुग्रिवजिले राम् थ्यैं जसै ता गर्या ।
राम्जीले पनि लौ भनेर खुसिले हात्मा धनूबाण् लिया ॥२६॥

बाण् फ्याँक्या प्रभुले र वेग् सित गयो सात्ताल भेदन् गरी ।
पर्वत् भूमि समेत् विदारि पर गो साम्ने त सब् साफ् गरी ॥
ठोक्रैमा फिरि आइ बाण् जब पर्यो सुग्रीवजी छक् पर्या ।
साक्षात् श्रीपति हुन् भनी चिह्नी तहाँ राम्को स्तुती खूप् गर्या ॥२७॥

हे नाथ् बल्ल चिह्न्याँ अहो सकलका आत्मा जगन्नाथ् भनी ।
माया देखि फरक् भयो अब त मन् लाग्दैन माया पनी ॥
क्या गर्छू अब पुत्र दार धनले सम्पूर्ण ई दुर् हउन् ।
मेरा सब् दस इन्द्रियै हजुरका सेवा टहल्मा रहुन् ॥२८॥

यै पाठ्ले जब ता गर्या स्तुति तहाँ सुग्रीवले सो सुनी ।
यो ज्ञान् आज म द्यूँ भनी प्रभुजिले अन्तःकरण्ले गुनी ॥
मायाले अनि मोह पारि रघुनाथ् हाँस्या र बोल्या जसै ।
सुग्रिव् मोह भया वचन् सुनि तहाँ ऊ ज्ञान बिस्र्या तसै ॥२९॥