Jump to content

Page:Bhanubhaktako ramayan.pdf/73

From Nepali Proofreaders
Revision as of 15:57, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> की राक्षस्हरुले हर्या कि वनमा की दुष्टले पेट् भर्या । एक् थोक् क्या त भयो अवश्य म गयाँ कुन् दुष्टका खेल् पर्या ॥ वन्देवीहरुलाइ मालुम भया विस्तार् बताऊ यहाँ । सी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

की राक्षस्हरुले हर्या कि वनमा की दुष्टले पेट् भर्या ।
एक् थोक् क्या त भयो अवश्य म गयाँ कुन् दुष्टका खेल् पर्या ॥
वन्देवीहरुलाइ मालुम भया विस्तार् बताऊ यहाँ ।
सीता मेरि पियारि देख्तिन म ता जान्छू सिता छन् जहाँ ॥९६॥

यस्ता रित् सित सोधि सोधि रघुनाथ् ज्ञानै स्वरूपी पनी ।
जस्तो मानिस गर्छ सोहि रितले हा मेरि सीता भनी ॥
फिर्थ्या तेस् वनमा बडा विरहले सोध्या न पाई उसै ।
यै बिच्मा वनमा त रथ् र धनुका देख्या अनेक टुक् तसै ॥९७॥

भन्छन् लक्ष्मणलाइ भाइ तिमिले देख्यौ यहाँको कुचाल् ।
अर्को आइ जिती लियेछ बिचमा मैले त देख्याँ कुचाल् ॥
येती बात् गरि राम् अलिक् पर गया देख्छन् त पल्टी रही ।
चिह्नैलाइ कठिन् जटायु कन ता दूवै पखेटा गई ॥९८॥

अज्ञान् कत्ति थियेन ता पनि तहाँ लीला नरैको गरी ।
चिह्न्याको न नचिह्न्यै गरेर भगवान् भन्छन् अगाडी सरी ॥
हे भाई धनु देउ दुष्ट मिलि गो मार्छू म बाणै धरी ।
खान्या येहि रहेछ हेरि बुझियो पल्टेछ खुप् पेट् भरी ॥९९॥

सून्या बात् र जटायुले पनि हवाल् वृत्तांत बिन्ती गर्या ।
सूनी पूर्ण दया भयो नजिक गै छाम्या र सब् ताप् हर्या ॥
सीताको समचार् खबर् कहि तहाँ साम्ने जटायू पर्या ।
स्नान् दाहा गरि मांसपिण्डहरु दी क्रीया प्रभूले गर्या ॥१००॥

सायुज्यै मुक्ति पाई स्तुति पनि बहुतै भक्ति रखेर लाई ।
पौंच्या धाम्मा जटायू प्रभु पनि नरको ठिक्क लीला जनाई ॥
वन् वन्मा फिर्न लाग्या विरह गरि गरी सोद्धछन् जाहिं ताहीं ।
दोस्रा देख्न्या मिल्यानन् सकल वन ढुँढ्या एक् पनी काहिं नाहीं ॥१०१॥