Jump to content

Page:Bhanubhaktako ramayan.pdf/74

From Nepali Proofreaders
This page has not been proofread

छातीमा मुख् भयाको सिर पनि न हुँदा नाम् कबन्धै रह्याको ।
चार् चार् कोस्सम्म पुग्न्या दुइ अति बलिया दीर्घ बाहू भयाको ॥
राक्षस् थीयो तहाँ एक् बसि बसि कन सब् हातले खैंचि खान्या ।
तेसैका बाहु बिच्मा रघुपति पुगिया रोकियो मार्ग जान्या ॥१०२॥

राक्षस्ले घेरियाको बुझि कन रघनाथ् भन्दछन् भाइलाई ।
हे लक्ष्मण् आज देख्यौ अब बिच परियो निल्छ की हामिलाई ॥
ठाकुर्जीका वचन् ई सुनि कन विनती ताहिं लक्ष्मण्जि गर्छन् ।
हे नाथ् क्या डर् छ यस्को दुइ भइ दुइ हात् काटिद्यूँ याहिं मर्छन् ॥१०३॥

येती बात् गरि हात् दुवै सहजमा काटी खसाल्या जसै ।
राक्षस्ले पनि हात् गिर्या जब तहाँ आश्चर्य मान्यो तसै ॥
सोध्यो आज म वीरका पनि सहज् हातै खसाल्यौ यहाँ ।
को हौ क्या मनमा लियेर वनमा डुल्छौ छ जानू कहाँ ॥१०४॥

उत्तर् श्रीरघुनाथले पनि दिया हाँसेर विस्तार् गरी ।
सून्यो राम भनी तहाँ र मनले चिह्न्यो इनै हुन् हरी ॥
ठाकुर्जी कन चीन्हि खुस् अधिक भै विस्तार आफ्नू गर्यो ।
हे नाथ् आज चिह्न्याँ हजुर्कन यहाँ पायाँ र सब् ताप् टर्यो ॥१०५॥

ब्रह्मा देखि अवश्य पाइ वरदान् गन्धर्व हूँ ता पनी ।
राम्रो छू भनि गर्व भो र ऋषि ता साह्रै नराम्रा भनी ॥
हाँस्याँ केहि र अष्टवक्र ऋषिले राक्षस् भयेस् लौ भनी ।
पैले स्राप गरी दिया पछि त फेर् मुक्ती बताया पनी ॥१०६॥

राक्षस् भै कन फिर्दथ्याँ म रिसले सिर् इन्द्रजीले हर्या ।
ब्रह्माको वरदान् थियो र म जियाँ इन्द्रादि सब् छक् पर्या ॥
सीरै गै पनि यो जियो अब कसो गर्ला भनी खुप् दया ।
आयो इन्द्रजिका र खान कन मुख् छाती विषे दी गया ॥१०७॥