Jump to content

Page:Bhanubhaktako ramayan.pdf/72

From Nepali Proofreaders
This page has not been proofread

आकाश्मा जब ऋष्यमूक गिरिका ऊप्र पुगीथिन् जसै ।
आफ्ना सब् गहना फुकालि बलियो पोको बनाइन् तसै ॥
राम् लक्ष्मण् कन यो दिउन् भनि तहाँ पोकै खसालिन् पनी ।
सुग्रिव्ले त गुफा विषे धरि लिया कस्ले खसाल्यो भनी ॥९०॥

सीताजीलाइ लङ्का लगि कन मनमा मातृवत् बुद्धि गर्दो ।
भित्री जुन् हो बघैंचा तहिं असल अशोक् वृक्षका नीच धर्दो ॥
सेवा खुप् गर्न लाग्यो तर पनि मनमा माइले दुःख पाइन् ।
हाराम् हा राम् जगन्नाथ् यहि वचन गरी राममा चित्त लाइन् ॥९१॥

मारीच् मारेर फिर्थ्या प्रभु पनि वनमा देखिया ताहिं भाई ।
राम्ले ताहीं विचार्या मन मन इ कुरा भाइ पुग्नै न पाई ॥
माया सीता बन्याकी अलिकति पनि याद् छैन ई भाइलाई ।
साँचै सीता इनै हुन् भनि कन मनले भन्दछन् चाल् नपाई ॥९२॥

यो बात् बोल्दिन गुह्य राख्छु म पनी मानुन् सिता हुन् भनी ।
सीता निश्चय हुन् भन्या त रिसले लड्नन् रिपू थ्यैं पनी ॥
यस्तो निश्चय मन् भयो प्रभुजिको लक्ष्मण् पुग्या झट् तहाँ ।
सोध्या श्री रघुनाथले किन सिता छोडेर आयौ यहाँ ॥९३॥

लक्ष्मण्ले पनि यो हुकुम् सुनि तहाँ बिन्ती गर्या क्या गरूँ ।
जो दुर्वाच्य गरिन् सबै भनुँ भन्या सक्तीन मैले बरू ॥
मारिच्का छलका वचन् सुनि बहुत् दुर्वाच्य बोलिन् जसै ।
संझायाँ भरसक् अनेक् तरहले लागेन बिन्ती कसै ॥९४॥

फेर् उत्तर् प्रभुले दिया अनुचितै हो यो गर्यौ ता पनी ।
छोड्नू कत्ति थियेन दुर्वचनले स्त्री हो भनी ता पनी ॥
येती बात् गरि राम आश्रम विषे जल्दी कदम् ली गया ।
देख्यानन् र सिताजिलाइ बहुतै शोक् गर्न लाग्दा भया ॥९५॥