Jump to content

Page:Bhanubhaktako ramayan.pdf/55

From Nepali Proofreaders
Revision as of 15:44, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हे नाथ् दुर्बुद्धि आई अति फजिति दियाँ राज्यको घात् गराई । मायाले मोह पार्दा मन पनि भुलि गै मेरि बुद्धी हराई ॥ क्यारूँ नाथ् आज रुन्छू विपति परि गयो आज यो चेत पायाँ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

हे नाथ् दुर्बुद्धि आई अति फजिति दियाँ राज्यको घात् गराई ।
मायाले मोह पार्दा मन पनि भुलि गै मेरि बुद्धी हराई ॥
क्यारूँ नाथ् आज रुन्छू विपति परि गयो आज यो चेत पायाँ ।
कठ्पुतली झैं नवाउँछिन् त्रिभुवनपति सब् धन्य छन् तिम्रि माया ॥११४॥

मेरो माया छ छोरा जन धनहरुमा यो सबै खैंचि देउ ।
दुर्बुद्धी हो पछी ता शरण परि भनी खुप् कृपा राखि लेऊ ॥
कैकेयी येहि पाठ्ले स्तुति गरि हरिका पाउमा सीर धारिन् ।
हे नाथ् आई शरण्मा परि भनि करुणा राख यो बिन्ति पारिन् ॥११५॥

हाँसी सीतापतीले पनि अभय दिया जो भनायाँ भन्यौ सो ।
दोष् तिम्रो छैन यस्मा बुझ तिमि मनले मेरि इच्छा त हो यो ॥
मन्मा सन्तोष पाउ म कन दिन दिनै सम्झँदै दिन् बिताऊ ।
छुट्नन् सब् कर्म तिम्रा रतिभर मनमा शोक् न राखेर जाऊ ॥११६॥

कैकेयी करुणा बुझी खुसि भई बीदा प्रभु थ्यैं भइन् ।
श्री राम्का चरणारविन्द मनले भज्दै अयोध्या गइन् ॥
सब् लस्कर्हरु ली भरत् पनि बिदा भै फेर् अयोध्या गया ।
सब् लस्कर्हरुलाइ राखि घरमा आफू फरक् भै रह्या ॥११७॥

नन्दीग्राम्मा सर्याका भुमिशयन गरी रोज् फलाहार् गर्याका ।
एक् गट्ठा सब् जटाको गरि कन ति खराउ गादि माथी धर्याका ॥
गर्थ्या सब् राज्यको काम् त पनि सब कुरा गादिमा बिन्ति गर्दै ।
यस्तै रित्ले बिताया दिन भरतजिले राममा चित्त धर्दै ॥११८॥

केही दिन् चित्रकुट्मा बसि कन रघुनाथ् वाल्मिकी थ्यैं बिदा भै ।
जान्छू वन्मा म फिर्छू भनि कन खुसिले अत्रिका आश्रमै गै ॥
अत्रीका पाउमा सिर् धरि कन म त हूँ राम् भनी नाम् बताया ।
श्रीराम्का वाणि सुन्दा मन अति खुसि भै अत्रिले हर्ष पाया ॥११९॥