पूजा सीतपतीको गरि कन ऋषिले पाउमा बिन्ति लाया ।
वृद्धा छिन् पत्नि मेरी सकल विषयमा एक् रती छैन माया ॥
भीत्रै छन् आज दर्शन् दिन मढुलि विषे भीत्र सीताजि जाउन् ।
सीताजीलाइ पाइ अब त ति बुढिले जन्मको सार पाउन् ॥१२०॥
अत्रीको बिन्ति सूनी हुकुम पनि दिया लौ सिते भीत्र जाऊ ।
अत्रीकी पत्नि भेटी कन अब तिमिले जल्दि फर्केर आऊ ॥
आफ्ना नाथ्को हुकुम् यो सुनि कन खुसि भै भीत्र सीताजि जाई ।
भेटिन् वृद्धा बहुत् भै कन बसि रहन्या अत्रिकी पत्निलाई ॥१२१॥
सीताले पाउमा सिर् धरि कन बहुतै प्रेम् बुढीमा बढाइन् ।
जोर् जोर् कुण्डल् र सारी दिइ कन बुढिले अंगराग् फेर् चढाइन् ॥
यस्ले शोभा निरन्तर दृढ पनि रहला यो पनि बिन्ति लाइन् ।
सीताजी लाइ आशिष् दिइ ति अनसुयाले बहुत् हर्ष पाइन् ॥१२२॥
सीता र लक्ष्मण सहित् गरि रामलाई ।
भोजन् म दिन्छु भनि खुप् सित चिज् बनाई ॥
भोजन् गराइ रघुनाथकि जानि माया ।
ताहाँ सपत्नि भइ रामकि कीर्ति गाया ॥१२३॥
इति श्रीआयोध्याकाण्ड ।
Page:Bhanubhaktako ramayan.pdf/56
Appearance
This page has not been proofread
