कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनी ।
भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिज्ञा भनी ॥
मेरै हौ तिमि राज्य जो छ उ पनी मेरै छ भन्दा भया ।
बर्को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया ॥५४॥
जल्पान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया ।
लक्ष्मण्का सँगमा रही गुह पनी रात् भर् खडा भै रह्या ॥
सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ ।
साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढन् गो मन् महाँ ॥५५॥
भन्छन् लक्ष्मण्लाइ भाइ फजिती खुप् कैकयीले दिइन् ।
राजालाइ वशमा गरेर बहुतै हुर्मत् प्रभूको लिइन् ॥
लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल् भित्र ठंडा गरी ।
लाग्या सुन्न पनी तहाँ गुहजिले तन् मन् वचन् सब् धरी ॥५६॥
दाता को छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको ।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
कर्ता हूँ पनि भन्नु छैन अभिमान् जन्ले न गर्नू कहीं ।
कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं ॥५७॥
धीरा भै रहनू विपत्ति सहनू कस्तै परुन् ता पनी ।
कैल्हे मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजिक्मा रही ।
गङ्गा तर्न हुकुम् भयो प्रभुजिको ताहाँ उज्यालो भई ॥५८॥
फिर्दामा म पुजा अवश्य गरुँला सामग्रि ठूलो गरी ।
गङ्गे आज म जान्छु घोर वनमा केवल् नमस्कार् गरी ॥
यस्तो बिन्ति गरी सितापतिजिका साथै चलिन् पार् तरी ।
आज्ञाले घरमा फिर्या गुह पनी भक्ती मनैमा धरी ॥५९॥
Page:Bhanubhaktako ramayan.pdf/45
Appearance
This page has not been proofread
