सुन्यौ भाइ संसार्मा शरिर अति कच्चा छ जनको ।
शरिर् कच्चा जानी नगर तिमि रिस् कत्ति मनको ॥
सबै भोग् चञ्चल छन् बिजुलि सरि एक् छिन् न रहन्या ।
विचार् यस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या ॥३०॥
भ्याग्तो खाँ भनि खोज्छ डाँस् मुख विषे साँप्ले धर्याको पनी ।
तस्तै भोग् गरुँला भनेर मनले भन्छन् दुनीयाँ पनी ॥
क्याको रस् छ यहाँ विचार मनले काल्सर्पको मुख् परी ।
क्या होला वन जाउँला इ सबलाइ आनन्द राखुन् हरी ॥३१॥
देश् देश्का बाटुलिन्छन् बुझ तिमि मनले बाटका पाटि माहाँ ।
बात्चित् गर्दै रहन्छन् खुसि सित मनले बन्धु झैं राति ताहाँ ॥
प्रातः काल् भो जसै ता उठिकन ति सबै दस् दिशा लागि जान्छन् ।
बन्धूको सङ्ग यस्तै बुझि कन गुणिले दुःखसुख् एक मान्छन् ॥३२॥
छाया तुल्य छ लक्ष्मि यौवन भन्या भेलै सरीको भनी ।
भन्छन् स्त्रीसुखलाइ स्वप्न सरिको साँचो कुरा हो भनी ॥
यस्तै जानि पनी मनुष्यहरु सब् संसारमा भुल्दछन् ।
भुल्नैका वशले अनेक् फजितिले संसारि भै डुल्दछन् ॥३३॥
जुन् यस् देह निमित्त यो रिस गर्यौ चिन्छौ कि कस्तो छ यो ।
हाड् मासू र रगत् नसा यति कुरा जम्मा भई बन्छ यो ॥
विष्ठा हुन्छ कि भस्म हुन्छ पछि तक् बाँच्तैन यो ता कसै ।
यस्का खातिर घात् गर्यौ पनि भन्या पाप्मात्र लाग्ला उसै ॥३४॥
क्रोधै हो यमराज सर्व जनको वैतर्नि भन्नू पनी ।
तृष्णा हो भनि यो बुझेर तिमिले कैल्हे नबिस्र्या पनी ॥
सन्तोष् लाइ बुझि कामधेनु सरिको सन्तोष मन्ले रहू ।
रिस् गर्नु बढिया त छैन वनमा जानू असल् हो सहू ॥३५॥
Page:Bhanubhaktako ramayan.pdf/41
Appearance
This page has not been proofread
