सुमित्राले भन्दा पछि पलक माइका खुलि गयो ।
प्रभूलाइ देख्ता अधिक मन सन्तोष् पनि भयो ॥
खुसीले काख्मा ली कन जब भनिन् खाउ कछु भनी ।
सुनी राम्ज्यू भन्छन् अब त कति खाँला नि म पनी ॥२४॥
गयो खान्या वेला म कन त मिल्यो राज्य वनको ।
भरत्ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ॥
बिदा बक्स्या जावस् खुसि सित म जान्याछु वनमा ।
म चाँडै फिर्न्याछू विरह न हवस् कत्ति मनमा ॥२५॥
वचन् सुन्दा मूर्च्छा परि कन उठ्याकी छँदि तहाँ ।
भनिन् कौशल्याले अब म तिमिलाइ छोड्दछु कहाँ ॥
भन्या राजाले ता तर म तिमिलाइ रोक्दछु यहाँ ।
कि साथै लैजाऊ म कन तिमि जान्छौ अब जहाँ ॥२६॥
तिमीलाइ बीदा दी म कसरि यहाँ दुःख सहुँला ।
बरू प्राणै त्यागी यमपुरि महाँ जाइ रहुँला ॥
विलाप् कौशल्याको यति सुनि दयाले भरि भयो ।
तहाँ लक्ष्मण्को मन् तब अरु उपर् रिस् हुन गयो ॥२७॥
नजर् दी राम्ज्यूमा अरु सित उठ्याको रिस बढाइ ।
गर्या बिन्ती राम् थ्यैं अब भरत थ्यैं गर्दछु लडाइ ॥
हजुर्को राज् हर्न्या जति जति त छन् मार्छु सबलाइ ।
पितै बाँध्छू पैल्हे भनि कन भन्या क्या छ अरुलाइ ॥२८॥
चढ्या जावस् गादी सकल रिपुको नाश् म गरुँला ।
यसै काम्ले माइका सकल मनको शोक हरुँला ॥
सुन्या लक्ष्मण्जीका इ वचन जसै राम् खुसि भया ।
बुझाया विस्तार्ले पनि तहिं ठुलो ली कन दया ॥२९॥
Page:Bhanubhaktako ramayan.pdf/40
Appearance
This page has been proofread
