"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् ।
मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ अरू पनि मद्दत गर्न म तयार छु ।" नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले भने- "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"
नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको हल्लाइन् ।
हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं र हर्षनारान जान सकेनन् । दुवै त्यसै उभिरहे ।
अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने- "जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।"
डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए ।