हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?"
डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा त गइ सक्नु भयो ।"
"हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।
"अगि एघार बजेतिर ।"
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?"
हर्ष नारान र नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?"
हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो । अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"
हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर आएका हौँ ।"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले– "कति रुपियाँ चाहियो नानी ?"