चलन अनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइ रहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।
भोलि पल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले 'सबै सबैलाई असल लाग्न सक्तैन' भने अनुसार अष्ट नारान असल नलाग्ने टोलका एकाध मानिसहरू समेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्ने मानिस नभएका र मानिस अनुकूल नमिलेका घरका स्वास्नी मानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्ट नारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।
अष्ट नारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्त प्रसाद हुन् । उनी पनि अष्ट नारानको निधन भएको भोलि पल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइ पुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्त प्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक