दश अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।
आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया र नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिवनारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।
एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै