Jump to content

Page:Ek chihan.pdf/30

From Nepali Proofreaders
Revision as of 21:58, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर रामबहादुरले भने- "आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन न ।"

"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।

"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" रामबहादुरले मुसुमुसु हाँस्तै भने ।

"त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।

"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बासाहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।"

"सुब्बासाहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइरहेछ, कुन मुखले फेरि रुपियाँ पैंचो माग्ने ?"

"म लिइदिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर ‘हुन्छ’ भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने उनी सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।

सफलताको छाया देखेर रामबहादुरले भने- "म सुब्बासाहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइदिनेछु । बडो गजबको सजिलो तान छ, मेसिनजस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;