रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् । त्यति चिसा बूढालाई सम्म हृदयमा सानो डाहाडको अङ्कुर पैदा भयो । के हामी पुरुषहरु यिनका खेलौना मात्र हौँ ?…….. नकली भावले पूजा गरिने त्यस वस्तुको प्राप्तिको निमित्त जसलाई उनीहरु आदर्श सुन्दर पुरुष मान्दछन् !
"ए निशा !" सुब्बाबाजेले टिप्पणी गरे, "ठाँट अल्लि ज्यादा भएन तिम्रो ?"
सुब्बेनी बज्यैले वरिपरि हेरिन्….."आज कृष्णपूजाको तयारी भएर मात्र । उस्तो ज्यादा मलाई पनि कहाँ मन पर्छ र ?"
नजिकको मेचमा बसेर बूढा भन्न लागे, "विचार गरन । ऋषि- मुनिलाई मूढोको मञ्च कस्तो थियो वनको छहारी, फूलपातको सिँगार । कृष्णाष्टमी भन्छौ भन्न त तिमीहरु…… म त यस चाडमा पनि यन्त्रको युग आएको पो देख्न लागेँ । विचार गर यो बुलुको कार्चोपीको चोली, र चुनुको रेशमी सारी । कति फलामको क्रियाले तयार भए यी त । यो रेशमको युग भनेर तरुणो दुनियाँ सलसलाएर फुरुक्क पर्छ । म भन्छु रेशमको भित्र हजार हत्या छ….. अनगिन्ती पुतली मार, ठिटीहो ! …….. यो रेशमी निर्दयी छ ………….. यसले तिमीहरुको नसा सुक्नेछ एक दिन । दूधका सिर्का शिशुका मुखमा जानेछैनन्, भोलि पर्सि…… हामी बोक्रे भएरहेछौँ …….. आत्मा आज टाढा गइसक्यो ……… कुरकुरे बैँसको अन्धो खोल, यो रेशम, यसमा प्रशस्त जलन छ …….. के नेपाल राम्रो भयो ? के तिमीहरु राम्रा भयौ ? यो पैरो हो, वैरो होइन । हामी छालामा आएर नाच्छौँ , ठिटी हो ! ……. अहिँसाको वथ पालन गरन ।"
वाल्ल परेर चकित नजरले दुई बुहारीले ससुराको मुहार जाँचिरहे, एक छिन ।
तब एकले दोस्रोलाई कोट्याएर मुसमुसाए, घुम्टोको पर्दापछाडि ।
उनीहरुलाई बूढोले के भन्न खोजेको राम्ररी चढेन । ज्यादा सिँगारिए वेस हुन्न भन्या होला । उत्ताउनी बनिन्छ रे !
बूढाले एक छिनपछि थपे…….."वस्तुको व्यावहारमा चरित्र छ, लसुन नखानु नै बाहुन हुनु हो । तिमीहरु वृत्ति भाँडिरहेछौ । ईशामसीहको स्वर्ग गुमेको कथा जस्तो हुनेछ, नेपाल एक दिन माक्क हुँदा बुझौला तिमीहरु ।"