'माक्क' शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरू विचार गर्दथे कि बूढाबूढीहरू एक किसिमका जीव हुन् जो ठिटीलाई हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि, मोहनी त बैँसको धन हो । उनीहरू दुवैले बूढो, मर्न लाग्या फ्याउरोको काहानी सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यो बूढा… ? तिमी पनि उनको कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको लबरपाँडेको नक्कल हेर्थ्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? छालामा त्यति मुजा पर्या ल, के विघ्न ? चञ्चल नानीको पिउनीजस्तो…
बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । एक-दुई वर्ष हडबडाउनको जरुरत थिएन ।
बूढाले भने, "बिचरी कोपिलै छ । आँग फुकेकै छैन । पिटिक्क जान्न पराईघरमा ?"
बूढीको चित्त बुझेन- "त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष थोरा हो ! अनि आफूलाई ज्यमराजले निम्ता दिइसके, मौका आँउछ, पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? अचम्म ! यो साल कि नकसाल । बार्ह वर्ष थोरै हो त ! च्वाट्ट पर सरे, बिताएन ? कुनामा पसिसकेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या जस्तो, एः ! अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो छोड्न हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि त सम्भावना थियो ।"
घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरू भए गर्छन्, खुकुलो भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन छ असहयोगभन्दा कडा ।