झारतिराइ माग्नुभन्दा आत्मवचन या छाया, बोक्रो माग्नुभन्दा, त्यसको आशा छोड्नु नै मलाई ज्यादा वेश लाग्यो । किन परालको त्यान्द्रामा झुन्डिनु जब हामी दुवै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्राह्मणवर्गमा विश्वासविच्छेद छैन ।
म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन-पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको सिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसिज्जत सुकुमारी उर्वरा बैँसलाई स्पर्श गर्न चाहन्नँ । किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।
म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैन ।
मैले तिमीलाई हृदयबाट निमिट्यान्न मेट्नका लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्म विरुद्धमा) ठिक गर्ने उपाय सोचे । तिम्रा निमित्त पुरुष म होइन । पुरुष अर्कै कतै जन्मिएको जरुर होला ….
मैतीदेवीतिम्रो कोही पनि नाइँ
१ वैशाख १९२६श्री रामकान्त अधिकारी"
यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठा जिल्म-जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएको अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिन थिइन् बिहे गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर । आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?
उनले पत्रका सब कुराहरूको स्पष्ट अर्थ बुझ्न सकिनन् ।