Jump to content

Page:Champa.pdf/45

From Nepali Proofreaders
This page has been proofread
अध्याय ४

पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— रामकान्त किन घर आएनन् ? साथीभाइहरूकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे, "के रामकान्त घरमा छैन ?…"

आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका दिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरु भरिएका थिए—

"चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टि.बी.को शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।

म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो योग्यता खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैनँ । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैँस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त