रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।"
सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी थियो । उनले हल्पी ऐना अगाडि आफ्नो चेहेरा जाँचे मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा सचेतता राख्दैन । किन नहाँसुन नाइँ, छेपाराले चुस्या जस्ता ढुम्म मोहीहरु । … उनको जीजन नै हाँसी थियो ……….. वृद्धताउपर निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । हामी पनि त हाँस्यौ नि आफ्नो जमानामा…….. हर्के बूढो, अरिमर्दन बूढो, सुक्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, उहिले !
उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो बूढो मान्छेल किन ऐना हेर्या होला । के मजा लाग्दो होला, छिः ! ………
बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?"
बूढा नातिनीतिर फर्के…….. दाढीमा हात लगाएर भने…….. "आम्मै हाम्रो आँखा हैन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र आँखा मुख हुन्छ त ?"
"बुवा हजूर ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ हकि ?"
"चोरको खुट्टा काट्…..", बूढाले उत्तर दिए……."हेरन, आफ्नो मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ? जुँघामा कति तमाखुको काइ लाग्यो भनेर । तिमीहरुलाई पो जुन बेला पनि सिँगार गरिरहूँ, ऐनामा मुख हेरिरहूँ जस्तो लाग्छ ।"
"हजूरबुवाको मुहार मलाई त चौपट्ट हिसी भएको जस्तो लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो लाग्दैन, बाबै !"
"कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो छु ? फटाही !"