सुरीला फुल्दा ती सुरवनपरी, बैंस असर । उज्याला पाएका गुनगुन गरी गान मधुर ॥ टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम । गलालाई गुँध्धे अति ललितमाला हरदम ॥ (२५) तिनै नाच्थे छम्छम् कुसुमपदले कोकिल-ध्वनि । पखेटा फर्फर् भै रससहित लच्कीकन घुमी ॥ जुनेली जादू झैं वसन पतलामा अघखुला । नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥ (३६) नटी नाच्थे छम्छम् गिरि-विपिनका निर्फर कला । छरी हीरा झन्झल् लहर हँसिला, नृत्य रसिला ॥ जुहारी शोभामा स्वर मधुरले नन्दन-वन । सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥ (३७) करोडौँ दौताका मुकुट-मणिले पाउ सजिने । रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥ अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान् । डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान् ॥ (३५) गडड्गड् गड्कन्ध्यो घनमहिम भै शक्ति जसको । चचड्चड् चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥ झझल्झल् झल्कन्थ्यो घनु पनि जगत्का नजरमा । तपस्वीको ठूलो. बलअघि त्यही दन्छ डरमा ॥ (३९) तपस्याका तेजी विपिनतटमा निश्चल थिए । जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥ जटाजूटी ध्यानी, परम प्रभुका सञ्निधि भई । उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥ (४०)
Page:Shakuntala.pdf/21
Appearance