Jump to content

Page:Laxmi nibandhasangraha.pdf/201

From Nepali Proofreaders
This page has not been proofread

जुँघा

म के लेखूँ के लेखूँ जस्तो भएर विचारशूत्य क्षणमा घोरिइरहेको वेलामा आदती तबरले मेरा बायाँ हातका बूढी र चोर औंला माथिल्लो ओठकाती मर्दमर्यादास्वरूप रोमागुच्छ तह लाउने काममा पुगेछन्‌, जसलाई 'जुँघा मुसार्नु' भन्दछन्‌ । मैले के भावले जुँघामा ताउ लाउन लागेँ म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर शायद यो रहेछ कि जुँघालाई सम्याउनु !

यो कागज-कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर रोटी र नाम दुवै कमाउनुपर्दछ । मैले लेखेका कुरामा छिः छि; गरिदेलान्‌ भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको दुनियाँमा म पछि पर्न चाहन्नँ । प्रख्याति र आत्मप्रदर्शनको मीठो ऐँडीले मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही भावनाहरू शून्य छन्‌, कविताको गन्ध पनि हृदयमा छैन । अहिले म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा मगजको कारखानालाई शून्यजस्तो बनाएर बीच-बीचमा पैदा गर्दछिन्‌ कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादूगरी गिर्खाहरू कुनै विषयमा झल्कँदै, रुनफुनाउँदै जाग्रत हुन सकेनन्‌ । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो पुरुषार्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर आउँदा अर्को चीज के सम्भियोस्‌ बरा !- ओठमाथिको जुँघासिवाय ?

तपाईंले याद गर्नुभएको होला- जब पूर्णवयस्क युवकलाई कसैले नामर्दको शब्दले गाली गर्दछ, तब अरू आड नपाएर आफ्ना औंलाद्वारा