अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रँदै जान्छन् । बैंसालु ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-टुक्रा मात्र केही खुला, केही लजिलो चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै हाँस्तछन् । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ । यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास पसीना काढ्ने वस्तादहरूका रफत, महफिलका विकृत चेहरादार गवैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार हन्छन्, तिनीहरूलाई आनन्द र भावको जोडले नै सुरिलो माधुरी दिन्छ । कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ दिलको पींधबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड, खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्, हृदयका आवाजहरू हावामा चक्कराइरहेछन्, पत्थरको छातीमा समेत टक्कराइरहेछन् । नेपालको हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्, लहराइरहेछन् ।
यो खुशियाली र यो आनन्दले, प्रकृतिबाट पन्छिएर अलग रहन खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा पुरातन पुरुखाहरू पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको पनि होला ।
लिनु र दिनुको जिन्दगीबाट हामी केही फुर्सद लिन खोज्दछौं । आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ । हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ चलिरहेछ । दूर रहे पनि हामी प्रकृतिका नातादार हौं । आजको खुशियालीमा हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको