भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"
लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुं आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए- "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसिराखेका रहेछौ ।"
शिवनारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि शिवनारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने- "रोपाइँको बेला भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ-पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले ‘एक चोटि हेरेर आऊ’ भनी उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।"
"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिवनारानले हाँसेर सोमतसाथ भने ।