Jump to content

Page:Laxmi nibandhasangraha.pdf/190

From Nepali Proofreaders
This page has not been proofread

जूवा

मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो-

“त्यो गोल टन्न बजने नयनाभिराम
जस्लाई पक्डन मुसारनमा तमाम
छाती पिटेर दुनियाँ रहँदो छ सारा
चौका तियाहरू गरेर कराइ मारा'-

त्यस्तो मनुष्यको मुटु जस्तो तवर्गका दुई अन्तिम अक्षरहरूले नाम बनेको चीजसँग घनिष्ठ सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्टचाउँदै क्षण-क्षणमा विशालका भावहरू उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा नै सजीव उत्साह हो । जुन खेलमा मानिस शरीरर हृदय दुवैले हाम्फालेर डुबुल्की लिँदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जूवाले गरीब र धनी दुवैलाई आफ्ना-आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरू चीजलाई भन्दा हृदयलाई ज्यादा छुन्छ । हार्दिक भावहरू परिवर्तन गराउनु नै यसको लक्षण हो। हेर, भाग्यको विधानमा जिज्ञासु बनेका तीखा समुत्सुक आँखाहरूलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षण अगाडिको भए तापनि उल्टाउन पाए उसलाई गजबको आनन्द मिल्छ । दोस्रो श्वासमा के लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण पूर्व-प्रतीक्षक भविष्यजिज्ञासु भावहरू र शक्तिहरू उत्तेजित भएर आउँछन्‌ र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट-पुलटको संकेत हेर्न उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन्‌ ।