भन्ने महाशयहरुले सायद यो पाना पल्टाउने छैनन् तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरु साहित्य, धर्म, ज्ञानको षेत्रमा चुलीहरु ताक्तैनौं ? युधिष्ठिर स्वर्ग जाँदा यतै आए । तर हामीहरु घनिष्ठ परिचयले महत्व भुलेका मानिस झैं हिमालयममनि बसेर शिखरहरुको उपासना गर्नामा थोरै समय दिन्छौं र बहुत थारै कर्म जागरुकता देखाउँछौं ।
तर प्राप्ति ठुलो कि धैर्य ठुलो ? असफलता र सफलतामा कुनचाहिं गहकिलो ? मेरो क्षुद्र विचारमा प्राप्तिभन्दा पनि ध्येय नै ठुलो छ, पुग्नुभन्दा आशा र खोज ठुला छन् । सफलताको ढुङ्गा भएको निर्माहनीमा अरु ध्येयहरु फेरि झल्केर नआए मनुष्य मुर्दा हुन्थ्यो । हामी गर्नुलाई जीवनको सत्य ठान्दछौं, श्रद्धालाई शिखरको सत्य ठान्दछौं; मृत्युलाई खतरा मोहनी; असफलतालाई पुनरुद्योगको माधुर्य । 'भयो पुग्यो बाबू ! सफल भइस्' भनेपछि त जीवनको जरुरतै छैन । परमेश्वरले छातीमा लिइहाले नि ! तर गर्नु–उठ्नु–उक्लनुको सच्चाइमा हामी परमेश्वरका सच्चा पुत्र बन्दछौं । शिखरमा शिवको मन्दिर छ, त्यहाँ अनन्तताको कारीगरी छ, त्यहाँ विचित्र सुनका घण्टीहरु बज्दछन् । त्यो उच्चतातिर मानवात्माले हिउँदको निर्मलता लिएर उठ्नुपर्छ । त्यहाँ देव र देवीहरु हात जोडेर बसिरहेछन्– ती, जो पृथ्वीमा सफल भएथे तर जो स्वर्ग पुगे पनि स्वर्गको सिंहासनमा बस्ने सत्यमा अविदितको मोहनी र अनन्तको पूर्णता देखेर अरु जीवनहरुद्वारा त्यहीं चढ्नको मिठास त्यही आज्ञाकारिता र नवीन–नवीन क्षेत्रमा उड्ने हुकुमहरु पर्खेर बिसरहेका छन् ।