Jump to content

Page:Champa.pdf/44

From Nepali Proofreaders
Revision as of 01:11, 12 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

तँ यसैका लागि जन्मिइस् । तँ मरे के बेफाइदा छ ? ……. तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्योपयोगको बाटामा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानवधर्मको वेदीमा । किन डराइस् ?"

तर जीवनसंरक्षणी शक्तिले जिती । स्वार्थी भावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।

रामकान्तको हालसालको मूक निन्याउरो अलग्गीपना देखर त्रस्त चम्पा भित्री प्रेरणले झन्-झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।

तब रातभर चिन्ताशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र आमाकहाँ मिरमिरे उज्यालामा गएर भने- त्यस दिन साथी भाइहरूसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए …… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एकबार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।