निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ— कुनै धर्मले चम्पालाई टि.बी. लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टि.बी. लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।" त्यसपछि उनी यौनसाहित्यतिर लागे । डि.एच. लारेन्सका निबन्धहरु अध्ययन गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल यौनविवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी, "यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो । यसभन्दा अरू चिज छैन । यस वस्तुका हाँगाबिँगा सबै सभ्यता हुन् । कत्रो यौनभावको पूजा !"
उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौनभाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक, क्षयक थियो । यदि यौनभाव यस्तो पवित्र वस्तु हो भने आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई आफू जल्ने, वल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक शुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस्, यो सच्चा मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो— अपरिभाषेय कोही ।
"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा वाहक अश्वका रूपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो ।