(३)
साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य निष्पट्ट कालो
मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो
त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो
आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो
(४)
तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा
हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा
भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए
कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए
(५)
नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा
जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा
त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी
धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी
(६)
हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क
नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क
जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास
पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास
Page:Lalitya bhag 1 ra 2.pdf/304
Appearance
This page has not been proofread
