Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/305

From Nepali Proofreaders
This page has not been proofread

(७)
त्यै मालाबाट उड्दो मधुर महकमा रङ्गियो देश सारा
भाषाको द्वेष गर्ने कृपणमति सबै लाग्न थाले किनारा ।
चौतर्फी चम्चमायो क्रमसित सब यो भानुको वाग्विलास
बढ्दो राष्ट्रीयतामा सरस चहकिलो पर्न थाल्यो प्रकाश ॥

(८)
बढ्दो-चढ्दो रसीलो वय लवकुशझैँ राष्ट्र यो शक्तिशाली
चाहन्थ्यो भित्र उस्को उस नव वयले उच्च शिक्षा-प्रणाली ।
भेट्टायो भानुभक्त प्रिय गुरु नगिचै वन्य वाल्मीकि तुल्य
जो यै अध्यात्म रामायण अति रसिलो ग्रन्थ लेख्थे अमूल्य ॥

(९)
भाषामा त्यो हुनाले सहजसित सबै राष्ट्रले पढ्न पायो
पढ्दा सुन्दा र गुन्दा प्रमुदित मन भो भाव अर्कै उदायो ।
त्यस्ले कोटि प्रजाको हृदय-बिच मिही ऐक्यको बीज हाल्यो
यै हाम्रो राष्ट्रभाषा भनि सब दुनियाँ दङ्ग भै भन्न थाल्यो ॥

(१०)
वर्षैपिच्छे हजारौँ प्रति उस कृतिका छापिए छापिँदै छन्‌
बाँकी काहीँ रहन्नन्‌, खुसिसँग दुनियाँ नित्य किन्दै लिँदै छन्‌ ।
निस्कून्‌ लाखौँ करोडौँ अरु नव कविता किन्तु यस्को महत्ता
खेस्ने छैनन्‌ कसैले जबतक रहला राष्ट्रमा शक्ति सत्ता ॥