उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथी सँगी भेट्टाइने । प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्री कृष्णको तस्बिर काखी च्याप्दथिन्, रुन्थिन् । तर उनलाई फेरि फेरि सिनेमातिरै जान मन लाग्दथ्यो । फिल्म-स्टार हुने वासना अभिनेत्री तारकाहरूको सौभाग्यमा मस्त हुन्थ्यो-कमसे कम तिनीहरू उच्च प्रेमको अभिनयसम्म त गर्न पाउँदथे । त्यो नाटकीय चित्रणमा यथार्थको रमरम आस्वादन त मिल्दथ्यो । बैंसालु कल्पना बराबर उत्तजेजना र पोषण पाउँथ्यो ।
यस्तै रीतसँग २/३ महिना बित्तै गए । बराबर मोटर भाडा लिएर टोखा जान्थिन् । रामकान्त बडा साँढ देखिन लागेका थिए । टाउको पनि ध्वाँक, गाला याहमान, शरीरै चौडा भएजस्तो, बोसो मात्र बढेको । उनलाई त्यस्तो नै देखेर चम्पालाई अलिकति सास आउँथ्यो-शायद बाँच्छन् कि ? तर उनलाई यस चीजले अत्यानन्दित-गरायो भन्न सकिन्न । उनी जीवनको चिप्लो अवाधि गति होला भनेर अलिकति प्रसन्न हुन मात्र खोज्थिन् ।
रामकान्तले माला छोडेर हँसी-दिल्लगी, तास, गञ्जीफा पक्रेका थिए । थोरै पढ्न पनि दिइएको थियो । दुलहीको चढ्दो उमेर र रुप उनका नजरले सिफरिश गरे । तर उनी त्यस बैंसको मोहनीदेखि त्रस्त भएर मनमन रोए ।