जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया त होइन ?” इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ………
उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो । “म ता च्यान्टा मान्छे ⁄ मैले बिहे गरेंभने त चीनीया मैयाँ, बुझिनस् कि ?”
एक साथी भन्थ्यो, “हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ’ हँ ?” भनेर च्याट्ठ बोल्या त, ए “चाङ वाङ चुबु कारु कानवान”- गरी म ता सुइँकुच्चा ठोकें बा ! हाँस्दा हाँस्दा हैरान । कस्तो ठीक्क गुरुङसेनी जस्ती हँ ?” …….
आर्को भन्थ्यो, “बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मंगोलियन् जातिलाई अत्यन्त हेलाँ गर्छौ, वा तँ एकजनाले जाति मिलाउन लागिस् के कसो ए ?”
रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीया च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ-काइ-शेकसँग एक दिन हात मिलाउनु थियो । “हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! रोगन सुन जस्तो, कपूर जस्तो होइन ।”
यस्तो कुराकानी, जापानी बङ्लो, इत्यादि विषयमा हुँदै थियो । जापानी, चित्रपटमुताबिक बुढानिलकंठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाट कल्पना मुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कंटहरू ! “मैले देख्नु न सेख्नु वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतोसँग जेठो दाज्यूले बिहे गरे । फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग….. बाँससँग कि ढोइसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने कुरा छ । मेथी चँशूरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ?