स्नोको हिउँबुट्टा – सेता कोठीका रमाइला स्वरूपमा लागेका देखिन्थे । भौ छाँट्नुपर्थ्यो । नेपाली बाबूसाहेबका देखासिकीमा लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि डिल्लीबजारमा मसहुर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा भेला हिउँदमा– अथवा कश्मीरा ! मान्छे च्यान्टे ! कालो कोट कश्मीराको या जमोठको आँगमा नचढाई, निक्खर कालो बलि चाहने महाकालीझैँ उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी चक्षुविशेषज्ञकहाँ पुगेका थिए ।
"के हुन्छ बाबू ?"
"के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।"
"कुखुराको फुल खानुपर्छ !"
"छ्या ! बाहुन म त ! के भन्या ?"
"हँ ? कलकत्ता जानुभा छैन ? पहेँलो त नजरको औषधि त्यसको, बुझ्नुभएन ?"
"होला, तर हाम्ले खानु कसरी नि ? भान्साँ उकाल्छन् र ?"
"व्यक्तित्व चाहिन्छ … त्यति लुकाएर खान नजाने के काम गर्नु- हुन्छ त दुनियाँमा ?"
"फेला पर्यो भने ? मारेन ?"
"के गर्छ त ? … प्रायश्चित्त छ नि … चश्मा लाउने ?"
"तब के गर्नु त ?"
"शून्य पावरको लिनोस् न त । के ? … ल यो फस्ट किलासको क्रुक्स । असी रुपियाँ ।"
उनको चौचश्मी व्यक्तित्व बाराटमा ठमठमाउँथ्यो या पाङ्ग्रामा बग्थ्यो । अलकत्राको माग गरेर जसको अभावले उनी नेपाललाई गाली गर्थे- "… सिंहदरबारको सडक रे ! छीः छीः छीः ! कति खडखडा … नदीको ढुङ्गा छुसछुसेले पेल्या हेरन । हामी वाग्मतीको बाटो हिँड्छौँ नि बरु । ईश्वरले बना छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त नौजवान साइक्लिस्टलाई ? कति गरीब सरकार ।
त्यत्रो सिंहदरबार बना के काम लाग्यो ल ? गाडी ओर्ल्या