Jump to content

Page:Prometheus.pdf/11

From Nepali Proofreaders
Revision as of 18:24, 29 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

(१०)
तरुणी, अमरवयसी सुररमणी ।
मदिरा, मदिरोन्मत्ता लाल कपोल,
मन्मथमथिनी, जादूडोल,
छुमछुम छैयाँमा मस्त,
शृंगार र दिव्यमा अनमोल,
मर्त्यबाट अलक्षित हूर, हूर,
नारंगी अञ्चल, हीरक नूर, नूर,
सुवर्णवर्ण लसित ललित कपूर,
स्वप्न सजीव, सजीव,
भावभंगिका स्वरविहंगिका,
रागचूर,
नाच्छन्‌ मरमर महल असलमा,
पुष्पधुर, सुगन्धपूर,
कनकनूपुर, नूपुर ।

(११)
तर ती सबबाट अलग्ग तिमी
शान्ता, अतिकान्ता, विरागचन्द्रिका,
दिव्य कुमारी गंभीर रह्यौ ।
अध्यात्मज्योति झैँ लयदार, जो
स्पन्दित जगजीवनमा झर्छ,
जो पागल सुन्दर पुजारी
कविको प्रथम हृदयमा पर्छ ।

(१२)
ए ! जननी ! भन । कहाँ छ त्यो
त्वरित विद्युत्-तुरग पिगासस्‌ ?
पटु सवार बेलेरोफनद्वारा जो
जाम्बूनद जंजीरले जकडियो पहिले ?
आज म ?ढ्दछु त्यसमा जननी ।
आकाश-मार्ग, अभ्रहरूका मालामा ।

(१३)
ओ ! एक घुट्को, घुट्को घटघट,
कनकघटमा तिम्रो करुणाको,
देऊ जननी ! पिलाऊ हेलिकन्‌को
प्रत्यूषा-प्रमंत्रित मदिरा झलझल,–
यस प्रजातन्त्रको अग्निभू प्रभातमा,
यस नवोद्‌बोधित समय-प्रवातमा,
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा,
घटघट !